न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पतालले पायो ६७ अंक, सुधारका लागि सुझाव


राजकुमार कार्की

 असार ४   जिल्ला अस्पताल ओखलढुंगामा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र रुम्जाटार जिल्ला अस्पतालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अस्पतालका विभिन्न फाँट तथा सेवाहरूको विस्तृत मूल्याङ्कन गरिएको थियो।

अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गरिएको मूल्याङ्कनमा अस्पतालका सबै विभागहरूको अवस्थाबारे समीक्षा गरिएको थियो। मूल्याङ्कन टोलीले अस्पतालमा सेवा सुधारका लागि अझै थुप्रै क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै विभिन्न सुझावहरू समेत दिएको छ।

कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सागर प्रसाई को विशेष उपस्थिति रहेको थियो। एमएसएस मूल्याङ्कन टोलीमा पशुपति खनाल, डा. सन्तोष राई, डा. वैभव मल्लिक डा. विनेश मण्डल सहभागी थिए।

मूल्याङ्कनका विभिन्न सूचकहरूको आधारमा अस्पतालले कुल ६७ अंक प्राप्त गरेको छ। गत वर्षको तुलनामा यस वर्ष अंक घटेको उल्लेख गर्दै जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराई ले अस्पतालको कार्यसम्पादन अपेक्षाअनुसार हुन नसकेको टिप्पणी गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख भट्टराईले सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूले जिम्मेवारीपूर्ण ढंगले काम नगर्दा राज्यप्रति नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभयो। उहाँले सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै पक्षले सुधारका लागि प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मूल्याङ्कनबाट प्राप्त सुझावहरू कार्यान्वयन गर्दै आगामी दिनमा अस्पतालको सेवा गुणस्तर थप सुदृढ बनाइने अपेक्षा गरिएको छ।


प्रतिक्रिया