राजकुमार कार्की
असार ४
जिल्ला अस्पताल रुम्जाटार, ओखलढुंगाको आयोजनामा सञ्चालन गरिएको दुईदिने पाठेघर खस्ने (आङ
खस्ने) समस्याबाट पीडित महिलाहरूका लागि निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको
छ।
जेठ २७ र २८ गते सञ्चालन गरिएको शिविरमा
जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्यचौकीहरूले पहिचान गरी सिफारिस गरेका ८ जना
महिलाको सफल शल्यक्रिया गरिएको अस्पताल प्रमुख डा. अमृता श्रेष्ठले जानकारी
दिनुभयो।
शिविरमा गाइनोक्लोजिष्ट डा. अमिताव
ठाकुरको नेतृत्वमा जिल्ला अस्पताल रुम्जाटारका प्रमुख डा. अमृता श्रेष्ठसहितको
स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो। शल्यक्रियापछि अस्पतालमा भर्ना
गरिएका सबै बिरामीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले बुधबारसम्म सबैलाई
डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
ग्रामीण
क्षेत्रका महिलामा देखिने पाठेघर खस्ने समस्याको उपचारमा सहज पहुँच पुर्याउने
उद्देश्यले शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ। यस्ता शिविरले आर्थिक तथा
भौगोलिक कारणले उपचारबाट वञ्चित महिलाहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको
छ।