‘ओखलको ढुङ्गा’ इतिहास र नामाकरण


राजकुमार कार्की

 साउन ८ । तिम्रै सुन्दर हरियालीमा, तिम्रै शीतल वक्षस्थलमा, यो कविको शैशवकाल बित्यो, हाँस्यो खेल्यो वन कुञ्ज घुम्यो, मेरो प्यारो ओखलढुङ्गा । युग कवि सिद्धिचरण श्रेष्ठद्वारा रचित यो कविताले ओखलढुंगालाई धेरैको सामु परिचित बनाएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ मा ओखल भएको ठुलो ढुङ्गालाई ओख्लीको आकारमा संरक्षण गरेर राखिएको छ । ओखलको ढुङ्गा हेर्न वर्षेनी आन्तरिक तथा बाह्रय पर्यटकहरु निकै आउने गरेका छन् ।

ओखलढुङ्गा जिल्लाको नाम कसरी ओखलढुङ्गा रहन गयो भन्ने धेरैको चासोको विषय हुन सक्छ । नेपालका पहाडी जिल्लामा हेर्ने हो भने ओखल भएका ढुङगाहरु जताजतै पाइन्छन् । के ढुङ्गामा ओखल भएकै कारण वा सबै भन्दा ठुलो ओखल भएको ढुङ्गा भएर ओखलढुङ्गा जिल्ला भएको हो त ? पक्कै पनि हैन !

किंबदन्ती अनुसार ओखलढुङगाको नामाकरण यसरी भएको थियो ।

करिब तीन सय वर्ष पहिले काजी भीम मल्ल आफ्ना सेना सहित ओखलढुंगा आईपुग्नु भएको थियो । गोली भरुवा बन्दुक सहित आएको सेना ओखलढुंगा सदरमुकाम आएर बसेको लोकोक्ति छ ।  भिम मल्लका सेनाहरु आइपुग्दा रात परिसकेको थियो । रात परिसकेको हुनाले अहिले ओखलको ढुंगा भएको ठाउँ नजिकै बसेका थिए । काठमाण्डौबाट खोटाङ हुँदै यहाँ आइपुगेका सेना सँग भएको सबै खाद्यसामग्रीहरु सकिएको रहेछ । खानको लागि खाद्यसामग्रीको खोजी गर्ने क्रममा टेकनपुरमा घरहरु भएको देखेपछि त्यहाँ गएर गाउँले सँग भएको अन्न; धान, मकै, फापर, कोदो लगायतका सामग्रीहरु लिएर आए । आफुले जम्मा गरेको खाद्यसामग्रीह (घैया धान) लाई कसरी चामल बनाएर खाने भन्ने कुरा दोधारमा थिए । यत्तिकैमा आफुहरु बसेको ठाउँ नजिकै चउरमा एउटा ठुलो ढुंगामा ओखल देखे र त्यहि ओखलमा धान राखेर ढुंगाको मूस्लीले कुटेर चामल बनाई भात पकाएर सैनिकले खाएका थिए । लँडाईको समयमा यहाँ रहदा यहि ढुंगामा धान कुटेर चामल बनाई खाना खाएको बुढापाकाहरुले बताउदै आएका छन्  ।

धान कुट्दै गरेको भिम मल्लका सेनाको प्रतिमा 


ओखलढुंगा सदरमुकामबाट अन्यत्र बाहिर गाउँतिर जाने ४÷५ वटा बाटाहरु रहेछन् । ती बाटाहरु कता तिर जान्छन् । को को हिड्छन् आदि कुराहरुको मल्ल सेनाहरुले अध्ययन गर्न शुरु गरेछन् । त्यो समयमा भोटबाट नुन ल्याएर खाने चलन रहेछ । सदरमुकामको अहिले भएको रमाईलो डाडाको बाटो भएर ओखलढुंगाबासीहरु नुन लिन भोट जाने गरेको पत्ता लगाएछन् । यो बाटोबाट भोट जाने आउने गरेको देखेर यहिबाटो भएर भोटे फौज (भोटका फौज) हरु आउछन् भन्ने विश्वासका साथ यहाँ बसेका रहेछन् । अहिले भएको ओखलढुंगाको दक्षिण पूर्वपट्टि तल कुवा र छेउको खोल्सामा पानी बगीरहने ठाउँ पत्ता लगाएका रहेछन् । उनिहरु दैनिक खानेपानी ल्याउन र नुहाईधुवाई गर्न त्यहि कुवा र खोल्साको पानी प्रयोग गर्ने गरेका रहेछन् । पानी ल्याउन र विहान नुहाएर चन्दन लगाएर आउने गरेका रहेछन् । यसरी प्रत्येक दिन विहान नुहाएर चन्दन लाउदै आउने गरेकाले उक्त खोला चन्दने खोलाको नामले अहिले पनि परिचित छ ।

काजी भिम मल्लको सेनाले भोटबाट आउने जाने मान्छेको रेकी गर्नको लागि रमाईलो डाँडाको छेउको उच्च भागमा अहिले आर्मी ब्यारेक भएको ठाउँमा गढ जमाएर बसेका थिए । काजी भिम मल्लले गढ बनाएकार बसेका कारण उक्त ठाउँलाई गढी डाँडा पनि भन्ने गरिएको छ । जुन बाटो भएर भोटे फौज   आउने विश्वास गरेका थिए । नभन्दै त्यहि बाटो भएर भोटका सेना लडाँइ गर्न आए । भिम मल्लका सेना र भोटका सेना विच घमासान लडाँई भयो ।

लडाँईको रोचक प्रसंग

काजी भिम मल्लका सेना र भोटका सेना विचमा लडाई हुदा भोटका सेनाले बन्दुक भन्दा बढी घुँयत्रो प्रयोग गरेका थिए । उनिहरुले बन्दुक कम र  घुँयत्रोको बढी प्रयोग गरेको देखेर मल्ल सेनाले उनिहरु सँग बन्दुक कम भएको अनुमान गरेका थिए । उनिहरुले घुँयत्रोको निशाना निकै राम्रो सँग लगाउथे । घुँयत्रोमा ढुंगाको सानासाना डल्ला प्रयोग गरेर हान्ने गरेका थिए । लडाँईका क्रममा एकदिन  उनिहरुले हानेको घुँयत्रोले लागेर मल्ल सेनाले मकै भुटीरहेको हाँडी फुटेर मकै जति सबै अगेनामा ओइरिएछ । आफुले खान भनेर मकै भुट्दै गरेको हाँडी फुटेर सबै मकै अगेनोमा ओइरिएपछि मल्ल सेना रिसाएर भनेछन्; ‘खान भनी मकै भुट्यो अगेनामा ओइरो, भोटेको देशमा कहिले जाला पहिरो । यसलाई नेपालीहरुले किस्साको रुपमा प्रयोग गर्न थालेको बुढापाका अग्रजहरुले बताउने गरेका छन् ।

लडाँई हुँदाहुँदै दुइ देश विच लडाई नगर्ने सन्धी भएपछि लँडाई पनि सकियो । तर मल्ल सेनाहरु यो ठाउँ महत्वपुर्ण र राम्रो ठाउँ रहेको भनि आफ्नो गढ जमाएरै बसेको भनाई रहेको छ । त्यहि क्रममा भिम मल्ल र सेनाहरुले बैधानिक रुपमा  अड्डा (ठाना) नै खडा गरेर बसेका थिए । तत्काली राज्य सँग अनुमति लिएर आफ्नो लेखापढि समेत चलाएर मल्ल सेनाहरु बसेका बसेका रहेछन् । भिम मल्लले खडा गरेको अड्डा (ठाना) भएकाले उक्त ठानाको नाम नै भिम मल्ल ठाना रहेको थियो ।

ओखलढुंगाको नामाकरण को विषयमा कुनै लिखित इतिहाँस त भेटिएको छैन । तर बुढापाकाहरुको भनाई पुस्तान्तरण हुदै आएको भनाईलाई आधार मानेर हेर्दा काजी भिम मल्ल र उहाँका सेनाले उक्त ढुंगामा धान कुटेर खाएको र लडाई पनि जितेको हुनाले यो ठाउँको नाम ओखलढुंगा रहेको जनश्रुति रहेको छ ।

ढुंगामा भएको प्राकृतिक ओखल 


ओखलढुंगा नामाकरण इतिहाँस धेरै लामो छैन । करिब ३०० वर्ष जति पहिलेको इतिहाँस रहेको पाइन्छ । जिल्लाको बार्णालु गाविस हाल सिद्धिचरण नगरपालिका वडा ५ मा भिम मल्ल कुलो र साविक कुन्तादेवी गाविस हाल मोलुङ गाउँपालिका वडा नं १ स्थित भिम मल्ल गढी रहेको पनि भनाई छ ।

ओखलढुंगा सदरमूकाम निवासी ९३ वर्षिय भैरबबहादुर श्रेष्ठ सँग गरिएको कुराकानीमा आधारित भई यो लेख तयार परिएको हो ।  पुराना अग्रज, समाजसेवी मेघ बहादुर श्रेष्ठ (हाल स्वर्गिय) ले पनि यहि कुरा बताउनु भएको थियो ।

 

प्रतिक्रिया