राजकुमार कार्की
साउन ८ ।
तिम्रै सुन्दर हरियालीमा, तिम्रै शीतल वक्षस्थलमा, यो कविको शैशवकाल
बित्यो, हाँस्यो खेल्यो वन कुञ्ज घुम्यो, मेरो प्यारो
ओखलढुङ्गा । युग कवि सिद्धिचरण श्रेष्ठद्वारा रचित यो कविताले ओखलढुंगालाई धेरैको
सामु परिचित बनाएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ मा ओखल भएको ठुलो ढुङ्गालाई
ओख्लीको आकारमा संरक्षण गरेर राखिएको छ । ओखलको ढुङ्गा हेर्न वर्षेनी आन्तरिक तथा
बाह्रय पर्यटकहरु निकै आउने गरेका छन् ।
ओखलढुङ्गा जिल्लाको
नाम कसरी ‘ओखलढुङ्गा’ रहन गयो भन्ने धेरैको चासोको विषय हुन सक्छ । नेपालका पहाडी जिल्लामा
हेर्ने हो भने ओखल भएका ढुङगाहरु जताजतै पाइन्छन् । के ढुङ्गामा ओखल भएकै कारण वा
सबै भन्दा ठुलो ओखल भएको ढुङ्गा भएर ओखलढुङ्गा जिल्ला भएको हो त ? पक्कै पनि हैन !
किंबदन्ती अनुसार
ओखलढुङगाको नामाकरण यसरी भएको थियो ।
करिब तीन सय वर्ष पहिले काजी भीम मल्ल आफ्ना सेना सहित ओखलढुंगा आईपुग्नु भएको थियो । गोली भरुवा बन्दुक सहित आएको सेना ओखलढुंगा सदरमुकाम आएर बसेको लोकोक्ति छ । भिम मल्लका सेनाहरु आइपुग्दा रात परिसकेको थियो । रात परिसकेको हुनाले अहिले ओखलको ढुंगा भएको ठाउँ नजिकै बसेका थिए । काठमाण्डौबाट खोटाङ हुँदै यहाँ आइपुगेका सेना सँग भएको सबै खाद्यसामग्रीहरु सकिएको रहेछ । खानको लागि खाद्यसामग्रीको खोजी गर्ने क्रममा टेकनपुरमा घरहरु भएको देखेपछि त्यहाँ गएर गाउँले सँग भएको अन्न; धान, मकै, फापर, कोदो लगायतका सामग्रीहरु लिएर आए । आफुले जम्मा गरेको खाद्यसामग्रीह (घैया धान) लाई कसरी चामल बनाएर खाने भन्ने कुरा दोधारमा थिए । यत्तिकैमा आफुहरु बसेको ठाउँ नजिकै चउरमा एउटा ठुलो ढुंगामा ओखल देखे र त्यहि ओखलमा धान राखेर ढुंगाको मूस्लीले कुटेर चामल बनाई भात पकाएर सैनिकले खाएका थिए । लँडाईको समयमा यहाँ रहदा यहि ढुंगामा धान कुटेर चामल बनाई खाना खाएको बुढापाकाहरुले बताउदै आएका छन् ।
धान कुट्दै गरेको भिम मल्लका सेनाको प्रतिमा
ओखलढुंगा सदरमुकामबाट
अन्यत्र बाहिर गाउँतिर जाने ४÷५ वटा बाटाहरु रहेछन्
। ती बाटाहरु कता तिर जान्छन् । को को हिड्छन् आदि कुराहरुको मल्ल सेनाहरुले
अध्ययन गर्न शुरु गरेछन् । त्यो समयमा भोटबाट नुन ल्याएर खाने चलन रहेछ ।
सदरमुकामको अहिले भएको रमाईलो डाडाको बाटो भएर ओखलढुंगाबासीहरु नुन लिन भोट जाने
गरेको पत्ता लगाएछन् । यो बाटोबाट भोट जाने आउने गरेको देखेर यहिबाटो भएर भोटे फौज
(भोटका फौज) हरु आउछन् भन्ने विश्वासका साथ यहाँ बसेका रहेछन् । अहिले भएको ओखलढुंगाको
दक्षिण पूर्वपट्टि तल कुवा र छेउको खोल्सामा पानी बगीरहने ठाउँ पत्ता लगाएका
रहेछन् । उनिहरु दैनिक खानेपानी ल्याउन र नुहाईधुवाई गर्न त्यहि कुवा र खोल्साको
पानी प्रयोग गर्ने गरेका रहेछन् । पानी ल्याउन र विहान नुहाएर चन्दन लगाएर आउने
गरेका रहेछन् । यसरी प्रत्येक दिन विहान नुहाएर चन्दन लाउदै आउने गरेकाले उक्त
खोला चन्दने खोलाको नामले अहिले पनि परिचित छ ।
काजी भिम मल्लको
सेनाले भोटबाट आउने जाने मान्छेको रेकी गर्नको लागि रमाईलो डाँडाको छेउको उच्च
भागमा अहिले आर्मी ब्यारेक भएको ठाउँमा गढ जमाएर बसेका थिए । काजी भिम मल्लले गढ
बनाएकार बसेका कारण उक्त ठाउँलाई गढी डाँडा पनि भन्ने गरिएको छ । जुन बाटो भएर
भोटे फौज आउने विश्वास गरेका थिए ।
नभन्दै त्यहि बाटो भएर भोटका सेना लडाँइ गर्न आए । भिम मल्लका सेना र भोटका सेना
विच घमासान लडाँई भयो ।
लडाँईको रोचक प्रसंग
काजी भिम मल्लका सेना
र भोटका सेना विचमा लडाई हुदा भोटका सेनाले बन्दुक भन्दा बढी घुँयत्रो प्रयोग
गरेका थिए । उनिहरुले बन्दुक कम र
घुँयत्रोको बढी प्रयोग गरेको देखेर मल्ल सेनाले उनिहरु सँग बन्दुक कम भएको
अनुमान गरेका थिए । उनिहरुले घुँयत्रोको निशाना निकै राम्रो सँग लगाउथे । घुँयत्रोमा
ढुंगाको साना–साना डल्ला प्रयोग गरेर हान्ने गरेका थिए । लडाँईका
क्रममा एकदिन उनिहरुले हानेको घुँयत्रोले
लागेर मल्ल सेनाले मकै भुटीरहेको हाँडी फुटेर मकै जति सबै अगेनामा ओइरिएछ । आफुले
खान भनेर मकै भुट्दै गरेको हाँडी फुटेर सबै मकै अगेनोमा ओइरिएपछि मल्ल सेना रिसाएर
भनेछन्; ‘खान भनी मकै भुट्यो अगेनामा ओइरो, भोटेको देशमा कहिले
जाला पहिरो ।’ यसलाई नेपालीहरुले
किस्साको रुपमा प्रयोग गर्न थालेको बुढापाका अग्रजहरुले बताउने गरेका छन् ।
लडाँई हुँदाहुँदै दुइ
देश विच लडाई नगर्ने सन्धी भएपछि लँडाई पनि सकियो । तर मल्ल सेनाहरु यो ठाउँ
महत्वपुर्ण र राम्रो ठाउँ रहेको भनि आफ्नो गढ जमाएरै बसेको भनाई रहेको छ । त्यहि
क्रममा भिम मल्ल र सेनाहरुले बैधानिक रुपमा
अड्डा (ठाना) नै खडा गरेर बसेका थिए । तत्काली राज्य सँग अनुमति लिएर आफ्नो
लेखापढि समेत चलाएर मल्ल सेनाहरु बसेका बसेका रहेछन् । भिम मल्लले खडा गरेको अड्डा
(ठाना) भएकाले उक्त ठानाको नाम नै ‘भिम मल्ल ठाना’ रहेको थियो ।
ओखलढुंगाको नामाकरण को विषयमा कुनै लिखित इतिहाँस त भेटिएको छैन । तर बुढापाकाहरुको भनाई पुस्तान्तरण हुदै आएको भनाईलाई आधार मानेर हेर्दा काजी भिम मल्ल र उहाँका सेनाले उक्त ढुंगामा धान कुटेर खाएको र लडाई पनि जितेको हुनाले यो ठाउँको नाम ओखलढुंगा रहेको जनश्रुति रहेको छ ।
ढुंगामा भएको प्राकृतिक ओखल
ओखलढुंगा नामाकरण इतिहाँस धेरै लामो छैन । करिब ३०० वर्ष जति पहिलेको
इतिहाँस रहेको पाइन्छ । जिल्लाको बार्णालु गाविस हाल सिद्धिचरण नगरपालिका वडा ५ मा
भिम मल्ल कुलो र साविक कुन्तादेवी गाविस हाल मोलुङ गाउँपालिका वडा नं १ स्थित भिम
मल्ल गढी रहेको पनि भनाई छ ।
‘ओखलढुंगा सदरमूकाम
निवासी ९३ वर्षिय भैरबबहादुर श्रेष्ठ सँग गरिएको कुराकानीमा आधारित भई यो लेख
तयार परिएको हो ।’ पुराना अग्रज, समाजसेवी मेघ बहादुर
श्रेष्ठ (हाल स्वर्गिय) ले पनि यहि कुरा बताउनु भएको थियो ।