सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा


२८ पुस, काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका  सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश द्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेलाई  विदेश जान नपाउने गरी  आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बताए । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले कार्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका  लामिछाने बिरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरी वृत्त गौशालामा  किटानी जाहेरी परेको थियो । उनलाई २० असोजमा नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा राखेको थियो। प्रहरीका अनुसार काठमाडौंको एक कलेजमा प्लस टु अध्ययनरत पीडित युवती लामिछानेकी फ्यान थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेको पीडितको भनाइ थियो । लामिछाने त्यसबेला टी२० सिरिज खेल्न केन्या जाने तयारीमा थिए । अघिल्लो दिन ५ भदौमा नयाँ बानेश्वरस्थित होस्टलबाट लिएर भक्तपुर दरबार स्क्वायरबाट नगरकोटसम्म लगेको पीडितको बयान छ । नियतवश नगरकोटमा धेरैबेर अल्मल्याएर अवेर मात्र काठमाडौं फर्काएको उनको भनाइ थियो । पिंगलास्थानस्थित होटल काठमाडौं इनमा आइपुग्दा राति ११M५५ भइसकेको थियो । पीडितको भनाइमा उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको भन्दै कोठा नम्बर ३०५ मा दुवैजना बस्नुपर्ने बताएका थिए । त्यहीँ राति आफूमाथि दुई पटक जबरजस्ती करणी भएको पीडितको भनाइ छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान थालेपछि लामिछाने एक महिनासम्म फरार भएका थिए । पछि इन्टरपोटलमा पनि उनीविरुद्ध नोटिस जारी भयो । इन्टरपोलले फ्लोरिडाको एक होटलमा उनलाई लोकेट गरेपछि लामिछाने आत्मसमर्पण गर्ने भन्दै फर्किएर नेपाल आएका थिए । नेपाल आउनासाथ त्रिभुवन अन्तर्राट्रिय बिमानस्थल बाट पक्राउ गरी हिरासतमा राखेको थियो ।

प्रतिक्रिया