पूर्वमन्त्री दाहालको निधन, को थिए स्वर्गीय होमनाथ


राजकुमार कार्की

 पुस २६ । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री बरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ । प्रोष्टेट र दम रोगका कारण अस्वस्थ रहनुभएका दाहालको ८४ वर्षको उमेरमा शुक्रबार बेलुका १०ः३० बजे निधन भएको हो । उहाँको जन्म बि.सं. १९९८ साल कार्तिक २५ गते ओखलढुंगाको साविक बरुणेश्वर गाउँविकास समिति हाल मोलुङ्ग गाउँपालिका वडा नं २ मा स्वर्गीय जीवनाथ दाहाल र नीलकुमारी दाहालको कोखबाट भएको हो । उहाँको निधन २०८२ साल पुस २५ गते बेलुका उपचारार्थ वीर अस्पताल लैजादै गर्दा भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

२०५६ सालमा तत्कालीन ओखलढुंगा जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधी सभाका लागि निर्वाचित हुनुभएको थियो । २०६१ सालमा कृषी तथा सहकारी मन्त्रीको कार्यभार समेत सम्हाल्नु भएको थियो । नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजक बन्नु भएको थियो । त्यसैगरी महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य र प्रतिनिधी सभा राज्य व्यवस्था समितिमा समेत रहेर उल्लेख्य काम गर्नुभएको थियो ।

स्वर्गीय दाहाललाई, वीपी विचारका सच्चा अभियन्ताका रुपमा चिनिन्छ । लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि लड्नुभएका दाहाल नेपाल पत्रकार महासंघको केन्द्रीय सभापति समेत हुनुहुन्थ्यो । स्वर्गीय दाहाल, महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट सम्मानीत हुनुभएको थियो । त्यसैगरी पत्रकारीता क्षेत्रको योगदानको कदर स्वरुप प्रेस काउन्सील पुरस्रकार २०४६ बाट पनि  सम्मानीत हुनुभएको थियो ।

दाहालले नेपाली विषयमा एमए सम्मको अध्ययन गर्नु भएको थियो । पञ्चायतकालमा राष्ट्रपुकार साप्ताहिक पत्रीका मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउदा उहाँ पटकपटक गिरफ्तार पर्नुका साथै करिब तीन वर्ष जेलजीवन समेत बिताउनु भएको थियो । दाहाल गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक समेत भई आफ्नो कार्यकुशल्ता प्रस्तुत गर्नुुभएको थियो । नयाँ सन्देश साप्ताहिकका सहायक सम्पादक देखि राष्ट्रपुकार साप्ताहिकका सम्पादक र प्रकाशक समेत बन्नु भएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सभापति २०४९, २०५१ हुनुभयो भने प्रेस काउन्सील नेपालको सदस्य भई पत्रकार हकहितको क्षेत्रमा उलेख्य योगदान पु¥याउनु भएको थियो ।

उहाँका नेपाली साहित्य, राजनीति, समाजका विभिन्न विषयमा लेखिएका लेख रचनाहरु प्रकाशीत भएका छन् । त्रिभुवन विश्वविद्यालयका सभासद, राष्ट्रिय विकास परिषद, अन्धा कल्याण संघको केन्द्रीय सदस्य भएर पनि उहाँले योगदान गर्नुभएको थियो ।

स्वर्गीय दाहालको पार्थीव शरिरलाई शनिवार विहान निजनिवास मैतिदेवीमा श्रद्धान्जलीका लागि राखिएको थियो । शनिवार दिँउसो  पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली सहित दाहसंस्कार गरिएको   पारिवारीक श्रोतले जानकारी दिएका छन् । अन्तिम श्रद्धान्जलीका लागि पशुपति आर्यघाटमा राखिएको पार्थीव शरिरमा नेपाली कांगे्रसका कार्यबाहक सभापति पूर्ण बहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतका शिर्षस्थ नेताहरुले चारतारे झण्डा ओढाई श्रद्धान्जली अर्पण गरेको प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृण दाहालले जानकारी दिनुभयो । नेपाली कांग्रेसका वीपी विचारका अभियन्ता, कुशल संगठक एवं बरिष्ठ पत्रकार होमनाथ दाहालको निधनले नेपाली कांग्रेस र नेपालको प्रेस जगतमा अपूरणीय क्षति भएको नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले बताउनु भयो ।

वरिष्ठ पत्रकार तथा नेपाली राजनीतिका होनहार योद्धा होमनाथ दाहालको निधनले सिंगो पत्रकारीता क्षेत्र, लोकतन्त्र र अभिब्यक्ति स्वन्त्रताको क्षेत्रमा र नेपाली राजनीतिममा अपूरणीय क्षति पुगेको जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईले बताउनु भयो  । प्रजातन्त्र सेनानी संघका सल्लाहकार सदस्य समेत रहनुभएका स्वर्गीय दाहाल प्रति शोकवक्तब्य प्रकाशन गरी श्रद्धान्जली अर्पण गरिएको अध्यक्ष बालकुष्ण दाहालले जानकारी दिनुभएको छ । स्वर्गीय दाहालका दुईछोराहरु डा. सुधाम्सु दाहाल र हिमांसु दाहाल रहेका छन । स्वर्गीय दाहालकी धर्मपत्नि सुधा दाहाल पनि वीर अस्पतालमा उपचारर्थ रहेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया