काठमाडौं २५, फागुन । राष्ट्रपतिमा
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । बिहीबार संसद
भवन नयाँबानेश्वरमा भएको निर्वाचनमा
पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु
भएको छ ।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी
केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय
स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय
जनमोर्चाको मत पाउनु भयो ।
अर्का उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र
नेम्वाङले १५ हजार ५१८ मत भार पाउनु भयो ।
उहाँले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएको निर्वाचन कार्यालयले जनाएको
छ ।
राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८
प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।
राप्रपाका १४, नेपाल मजदुर किसान
पार्टीका १ जनाले मतदानमा सहभागिता भएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी
केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।
प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र
मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति
निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।