सँगै खाजा खाईरहेकी श्रीमती स्वर्गीय हुँदा टुलुटुलु हेरीरहेँ


 बैशाख १७ ।  ५९ वर्षिय श्रीमान सुर्य बहादुर बुढाथोकी र ५५ वर्षिय श्रीमती देव माया बुढाथोकी घर भित्र अगेनाको छेउमा बसेर उसिनेको आलु खाईरहेका थिए । बाहिर ठुलो पानी परिरहेको थियो । घरको दलानमा गहुँ राखिएको थियो । गहुँ भिज्यो भनेर आलु खाँदै देवमाया गहुँ भित्र तान्न ढोकामा पुग्नलाग्दै एक्कासी श्रीमान सुर्य बहादुरकै छेउमा आएर पछारिन् र बेहोस भईन् । सुर्य बहादुरले रुदै भने; ‘ आँतिदै हिडेकीले अल्झेर लडेको होला भन्ने लागेर, आँखा हेरेर हिड्नु पर्दैन भन्दै उठाउँन गएँ तर, बुढी (श्रीमती) लाई उठाउन सकिन आधा श्वास गईसकेको रहेछ । मैले केहि गर्नै सकिन र हार गुहार गरेँ ।’

 जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं २ स्थित तोपाडाँडामा श्रीमान श्रीमती घर भित्रै बसेर खाजा खाईरहेको बेलामा चट्याङ्ग लागेर श्रीमती देव माया बुढाथोकीको मृत्यु भएको छ । शनिबार अपरान्ह ४ः४५ बजेको समयमा हावा हुरी सँगै भएको वर्षामा परेको चट्याङ्ग लागेर गम्भिर घाइते भएकी देवमायाको उपचारको क्रममा मन्थली सामुदायिक अस्पताल रामेछापमा मृत्यु भएको हो । घरभित्रै चट्याङ्ग लागेर बेहोस अवस्थामा अगेनाको छेउमै ढलीरहेकी देवमायालाई थप उपचारका लागि एम्बुलेन्स मार्फत मन्थली सामुदायिक अस्पताल रामेछाप लगिएको थियो । अस्पताल पु¥याउने बितिक्कै रातको १२ बजे नै अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । लासको पोष्टमार्टम पश्चात आइतबार नै दाहसंस्कार गरिएको वडा अध्यक्ष सुरेन्द्र शंकर घिमिरेले बताए ।  

चट्याङ्गले घरमा कुनै पनि क्षति नभएको बताएका छन् । मृतक बुढाथोकीको शरिरमा पनि कुनै चोट देखिएको थिएन । अचेत अवस्थामा रहेकी बुढाथोकीलाई घरमै स्वास्थ्य चौकीका अहेवलाई चेक गराएका थिए । छरछिमेकी र अहेवका अनुसार घरमै माया मारिसकेका थिए । केहि उपचार हुने आशामा एम्बुलेन्स मार्फत राती नै मन्थली सामुदायिक अस्पताल रामेछाप लगिएको थियो । 

उक्त घरमा ३ वर्ष अगाडी पनि चट्याङ्ग पर्दा सुर्य बहादुर गम्भिर घाइते भएका थिए । लामो समय काठमाण्डौमा उपचार पछि मात्र बाँच्न सफल भएको परिवार श्रोतले जनाएको छ । अहिले पनि सुर्य बहादुरको एउटा आँखा बन्द भएको र कान पनि नसुन्ने भएको बताएका छन् । 

बुढाथोकीका ५ भाई छोराहरु मध्य काईँलो छोराको २ वटै मृगौला रोगी छन् । ५÷६ वर्ष अगाडी देखि नियमित डायोलाइसिस गरिरहेका छन् । माइलो छोरा, साइलो छोरा र कान्छो छोरा बिदेश जान र काइलो छोराको डायोलाइसिस गर्न शनिबार नै घरबाट काठमाण्डौ गएका थिए । छोराहरु काठमाण्डौ नपुग्दै आमा चट्याङ्ग लागेर गम्भिर घाइते भएकी थिईन् । बिच बाटोमै आमा घाईते भएको खबर पाएपछि आफु सँग भएको सामान काठमाण्डौमा पु¥याई थन्क्याएर राती नै मन्थली आएका थिए । बिदेश जाने निश्चित भएपछि शुक्रबार सबै परिवार, आफन्त  जम्मा भई  खसी काटेर खाएका थिए । र शनिबार बिहानै काठमाण्डौ लागेका थिए । 


प्रतिक्रिया