तीनकुने घटनाः दुई जनाको मृत्यु, कहाँ कहाँ कति क्षती भयो ?

 

चैत १६ । राजाबादीहरुले गरेको आन्दोलनमा परी दुई जनाको ज्यान गएको छ, ५३ जना नेपाल प्रहरी, २२ जना सशस्त्र प्रहरी र ३५ जना प्रदर्शनकारी घाईते भएका छन् ।  तीनकुनेस्थित मार्बल हाउस बाट आन्दोलनको भिडियो खिचिरहेका पत्रकार सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त मार्बलहाउसमा आन्दोलनकारीले आगो लगाएका थिए । तीनकुने घटनामा परी कीर्तिपुर४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया