नक्कली नोटसहित तीन जना पक्राउ


बैशाख २२ ।  काठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका ७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् । बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक हजार दरको ४९ थान नक्कली नोट, प्रिन्ट गरेको काट्न बाँकी एकहजार दरको नोट १ सय २६ थान, पाँच सय दरको नोट २ थान, प्रिन्ट गरेको काट्न बाँकी पाँच सय दरको नोट ६० थान, प्रिन्टर मेसिन १ थान, बैंकको चेक बुक १ थान, नेपाली नागरिकता १ थान, फलामको रूलर १ थान, मसि ५ थान, रंगिन पेपर ५० थान, फोटोकपि पेपर र मोबाइल २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा हलुवाई समेत संलग्न रहेको पत्ता लागेको थियो ।  उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

त्यसै गरी सुनसरी, ईटहरी उपमहानगरपालिका १ आपगाछीबाट एक हजार दरको ६ थान र पाँच सय दरको २२ थान नक्कली नोटसहित गढी गाउँपालिका २ बस्ने ३८ वर्षीय जमिल खातुनलाई पनि बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागेको सिरुवा मेलामा खातुनले जेरी किनमेल गरी एक हजार दरको नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई तलासी गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।

प्रतिक्रिया