ओखलढुंगा प्रहरीलाई सफल्ता, श्रृङ्खलाबद्ध हत्यामा संलग्न गिरोह पक्राउ


राजकुमार कार्की

 पुस २१ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ गरी सार्वजनिक गरेकोछ । गत असोजमा चार्खुमा भएको एकल महिलाको हत्यारोप र पुसमा भदौरेमा भएको मगर दम्पतिको हत्यारोपमा प्रहरीले पक्राउ गरी आईतबार सार्वजनिक गरेको हो । प्रहरीले दुवै ठाउँमा हत्यामा संलग्न भएको आरोपमा चिशंखुगढी गाउँपालिका, दियालेका २८ वर्षका मिलन भन्ने संगम राई, सोई गाउँपालिका, रातमाटेका ३० वर्षका विनोद राई, रातमाटेकै ३० वर्षका प्रकाश भुजेल र सोइ गाउँपालिका, माम्खाका ३० वर्षका दोर्जे भन्ने आशोक भुजेललाई सार्वजनिक गरेको छ । संगम राई र विनोद राईलाई पुस १८ गते, प्रकाश भुजेल र अशोक भुजेललाई १९ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सिद्धिचरण नगरपालिका, चार्खु बस्ने अन्दाजी ५२ वर्षीय एकल महिला रत्न कुमारी कटवाल (कार्की) को असोज २६ गते राती करिब १० बजेको समयमा घरमै हत्या भएको थियो । हतियारधारी समुहले रत्नकुमारीको दाहिनेपट्टीको कञ्चट तथा कानको छेउमा दाउरा काट्न प्रयोग गर्ने बन्चरो प्रहार गरी विभत्स हत्या गरिएको थियो । हत्या पश्चात गरगहना र नगद समेत लुटेर फरार भएका थिए । उक्त हत्याकाण्डको ३ महिना पुग्न नपाउँदै चिशंखुगढी गाउँपालिका, भदौरे गैरीगाउँका पसले मगर दम्पतिको विभत्स हत्या पश्चात लुटपाट समेत गरिएको थियो । पुस १५ गते बेलुका करिब ८ बजेको समयमा शोभितमान किराना पसल सन्चालन गर्दै आएका अन्दाजी ६० वर्षका शोभितमान थापा मगर निजको श्रीमति अन्दाजी वर्ष ६० कै रत्न माया थापा मगरको कोदालो र अन्य हतियार प्रहार गरी हत्या गरिएको थियो । मगर दम्पतिको पनि दाहिनेपट्टीको कञ्चट तथा कानको भागमा कोदालो र अन्य हतियार प्रहार गरी विभत्स हत्या गरिएको थियो । हत्यापश्चात मृत दम्पतिलाई नजिकैको गोठ (मतान) मा लगेर स्याउलाले छोपेर हत्याराहरु फरार भएका थिए । निज दम्पतिको पसल तथा कोठाबाट अन्दाजी नगद १ लाख, सुनको गहना २ तोला र काँचो सुन समेत गरी ६ तोला सुन लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।

चार्खु घट्नास्थल बाट बन्चरो १ थान, रत्न कुमारीको लुटिएको सुन गालेर बनाएको ५.८० ग्रामको रिङ १ थान प्रहरीले बरामद गरेको छ । भदौरे घट्नास्थल शोभितमान किराना पसल बाट लुटिएको १०० को रिचार्जकार्ड विनोद राईको खल्तिमा फेला परेको छ । त्यसै गरी आरोपीहरुबाट भरुवा बन्दुक २ नाल, मोबाईल ४ थान बरामद गरी सार्वजनिक गरिएको छ । श्रृङ्खलाबद्ध रुपमा भएको हत्या र लुटपाट गरी अभियुक्तहरु फरार हुनुले ओखलढुंगेली नागरिकमा त्रास पैदा भएको थियो । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासमा हत्यामा संलग्नहरुको खोजी गरी पक्राउ गरिएको थियो । अपराधी प्रमाणित पश्चात कर्तब्य ज्यान सजायः परिच्छेद ५ को दफा ४१ को उपदफा (क) बमोजिम क्रुर यातना दिई वा निर्ममता पूर्वक ज्यान मारेकोमा जन्मकैद हुनेछ ।

डाँका सजायः परिच्छेद १९ को दफा २४४ को उपदफा (क) बमोजिम ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार रुपैया देखि १ लाख ४० हजार सम्म जरिवाना हुनेछ । हातहतियार खरखजाना सजायः परिच्छेद ६ को दफा १२९ को उपदफा १ बमोजिम १० वर्ष कैद र १ लाख जरिवाना र परिच्छेद ६ को दफा १३२ को उपदफा १ बमोजिम ५ वर्ष कैद र ५० हजार सम्म जरिवाना हुने कानूनी ब्यवस्था छ । 

प्रतिक्रिया