जिसस ओखलढुंगाका प्रमुख, स्वर्गीय खनाल को हुन ?


झगनखबर

 असोज १४ । ओखलढुंगा जिल्लाको साविक नारायणस्थान गाउँविकास समिति हाल सिद्धिचरण नगरपालिका वडा नं ३ स्थित नारायणस्थानमा जन्मनु भएका डिल्लीराम खनाल सानै उमेर देखि पन्चायत बिरुद्धको आन्दोलनमा लाग्नु भएको थियो । २००७ साल असोज २० गते जन्मनु भएका खनाल, शुरुमा सरकाारी सेवामा जागिर खानु भएको थियो । २८ सालमा शिाक्षण पेशामा आबद्ध भएपनि पन्चायती सरकारले अराष्ट्रिय तत्व भनेर शिक्षण पेशाबाटै निकालेका थिए ।

२०३१ सालमा लोकसेवा आयोग पास गरी निजामती सेवामा पनि प्रबेश गर्नुभएको थियो । लामो समय निजामती सेवामा कार्यरत रहनुभएको थियो । निजामती सेवामा हुँदा पनि पन्चायती ब्यवस्थाको बिरुद्धको आन्दोलनलाई भित्री रुपमा सहयोग गर्दै आउनु भएको थियो । पन्चायत बिरोधी आन्दोलनमा सभागी भएका कारण बाटै उहाँलाई जागिरबाट निष्काशन गरिएको थियो । उहाँले नेपाली कांग्रेसलाई प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्दै आउनु भएको भतिज बालकुमार खनालले बताउनु भयो ।

२०४६ सालमा नेपालमा बहुदलको (प्रजातन्त्रको पुनः) उदय भएपछी नेपाली कांग्रेसमा आबद्ध भई राजनितिमा सक्रिय भूमिका निभाउदै आउनु भएको थियो ।  नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला कार्यसमितिको कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । लगातार २ कार्यकाल कोषाध्यक्ष हुनुभएका खनाल पार्टीका लागी असल इमान्दार नेताको रुपमा चिनिनुहुन्छ  । जागिरे जीवन पछाडी नियमित राजनितिमा होमीनु भएका खनाल पार्टीको विभिन्न भूमिकामा रहेर काम गर्नु भएको थियो । पार्टीका साधारण सदस्य देखी कार्यकर्ता लगायतमा परिचित नेता खनाल, सबैप्रति सद्भाव र दयालु स्वभावको भएको कांग्रेस नेता टेकराज भट्टराईले बताउनु भयो ।

 

०६२÷०६३ को जनआन्दोलन पछी जिल्ला उपसभापति भएर पनि काम गर्नुभएको थियो । त्यसपछीको जिल्ला अधिबेशनमा जिल्ला सभापतिको उम्मेदवार हुनुभएका खनाल असफल हुनुभएको थियो । अन्य समयमा महाधिबेशन प्रतिनिधी र महासमिति सदस्य भएर पनि काम गर्नु भएको थियो ।

२०७४ सालमा भएको स्थानिय निर्वाचनमा सिद्धिचरण नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनु भएको थियो । २०७९ सालमा भएको स्थानिय तह निर्वाचनमा सिनपा ३ बाट वडा सदस्य निर्वाचित भई सर्वसहमत जिल्ला समन्वय समिति ओखलढुंगाको समन्वय प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

उहाँडिल्लीराम खनालको निधन भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा शनिबार राती १० बजे निधन भएको हो ।लामो समय देखी प्याङक्रीयाज क्यान्सर पिडित खनाल उपचाररत हुनुहुथ्यो । २००७ साल असोज २० गते ओखलढुंगामा जन्मनुभएका खनालको २०८० साल असोज १३ गते बेलुका शिक्षण अस्पताल काठमाण्डौमा मृत्यु भएको छ । तिन वर्ष अगाडी प्याङक्रीयाजमा क्यान्सर भएपछी नयाँदिल्लीको राजीवगान्धी अस्पतालमा उपचार गर्नुभएको थियो । करिब ६ महिना भारतमा उपचार पश्चात नेपाल आउनु भएको थियो । त्यसपछी काठमाण्डौको हरिसिद्धी क्यान्सर अस्पतालमा नियमित फलोअप र उपचार गराउदै आउनु भएको थियो । पछी शिक्षण अस्पताल महाराजगन्जमा नियमित उपचार गराईरहनुभएको थियो ।

उहाँकी धर्मपत्नी ६८ वर्षिय शारदा खनाल हुनुहुन्छ भने दुई छोरा र दुई छोरी हुनुहुन्छ । जेठो छोरा महेश खनाल परिवार सहित रोजगारीको सिलसिलामा अष्ट्रेलिया, दुइ विवाहित छोरी पनि बिदेशमै रहेका छन् । कान्छा छोरा डा।राजाराम खनाल बरिष्ठ मुटु रोग विशेषज्ञ शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया