एउटै कम्युनिष्ट पार्टी बनाउन नसके, कम्युनिष्ट महासंघ बनाउन सुझाव


ओखलढुंगा बैशाख १० । वाम बुद्धिजीवि तथा विष्लेषक श्याम श्रेष्ठ र लोककृष्ण भट्टराईले नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने आधार रहेको बताएका छन् । विष्लेषकद्वय भट्टराई र श्रेष्ठले जनमत कम्युनिष्ट पार्टीहरुको धेरै रहेको अवस्थामा शासन सत्तामा भने गैर कम्युनिष्टहरुको हालीमुहाली हुनु मुलुकको हितमा नभएको बताएका हुन् ।

कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्ष पुगेको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान र नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको विचार गोष्ठीमा उहाँहरुले देशमा

एउटै कम्युनिष्ट पार्टी बनाउने अवस्था नरहेको न्यूनतम साझा समाजवादी कार्यक्रम तयार पारेर कम्युनिष्ट महासंघ निर्माण गर्न सकिने बताएका छन् । एउटै पार्टी वा महासंघमा अटाउन नसकिएमा देशमा दुईवटा मात्रै कम्युनिष्ट पार्टी बनाउनु पर्ने विष्लेषक श्रेष्ठले बताउनु भयो । उहाँले पार्टीका नेताहरुमा झाँगिएको गैर कम्युनिष्ट आचरणले कार्यकर्तादेखि जनतासम्म निराशा छाएको टिप्पणी गर्नुभयो ।

देशमा अस्तित्वमा रहेका २१ वटा कम्युनिष्ट पार्टीहरुको एउटै महासंघ बनाउन पहल गरिने पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका भट्टराईले बताउनु भयो । उहाँले सदनमा भएका कम्युनिष्टहरु सुधारवादी समुह र संसदीय प्रद्धतिमा नरहेकाहरुको क्रान्तिकारी समुह गरेर दुई खाले मात्रै पार्टी निर्माण गर्न सकिए पनि नेपाली कम्युनिष्ट आन्दोलन बलियो बन्दै जाने बताउनुभयो ।

कार्यक्रममा एमालेका नेताहरु अनुपस्थित भएको विषयलाई लिएर उनीहरु किन पूर्वाग्रही भएर नआएका भन्दै भट्टराईले आक्रोश व्यक्त गर्नुभयो । संविधान सभा सदस्यका रुपमा एमालेका नेता हर्कबोल राई भने उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा वाम विष्लेषक पुस्कर गौतमले नेपाली कम्युनिष्ट आन्दोलनको एकताः संभावना र चुनौति विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यमाथि विष्लेषक श्याम श्रेष्ठ र डाइलेक्टियल सोसाइटिका विनोद लोहनीले टिप्पणाी गर्नुभएको थियो ।

कार्यक्रममा कम्युनिष्ट नेताहरु पेशल खतिवडा, देवशंकर पौडेल, मोहन खड्का, चम्पा कार्की, हर्कबोल राई निशान्त शर्मा, रुद्र फुयल लगायतले नेपालमा कम्युनिष्ट एकताको आवश्यकता र चूनौतिका बारेमा धारणा राख्दै कम्युनिष्ट पार्टीका नेताहरुको देवत्वकरण गर्ने कार्यकर्ता र आधार र नैतिकता छाड्ने नेताहरुको व्यवहारका कारण आन्दोलन कमजोर बनेको निष्कर्ष निकालेका छन् ।

कार्यक्रमका अध्यक्ष नेत्रप्रसाद भट्टराईले स्थापना दिवसमा आयोजना गरिएको विचार गोष्ठीले कम्युनिष्ट पार्टीका नेताहरुबीच सौर्हादता कायम गरेर सहकार्य गर्ने वातावरण बन्ने अपेक्षा गरिएको बताउनु भयो ।

प्रतिक्रिया