झगनखबर
भदौ २५ । जिल्लाको लिखु गाउँपालिका वडा नं –६, राते डाँडामा तरकारी
खान बोकेको आलुको झोलाले एक बृद्धको ज्यान लिएको छ । तरकारी खानको लागी आलुको झोला
बोकेर घरतर्फ आउदै गर्दा बाटोमा लडी झोलाको फिता घाँटीमा पासो लागेर घट्नास्थलमै
मृत्यु भएको हो । २४ गते आइतबार बेलुका करिब ७ बजेको समयमा आलु सहितको झोला बोकेर
आउने क्रममा घर नजिकै लडेर ६४ वार्षीय कुल
बहादुर सुराली मगरको मृत्यु भएको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आईतबार आलु खरिद गरी घर लिएर हिड्नुभएका
मगर सोमबार विहान सम्म पनि घर नआएपछी परिवारले खोजी गरेको थियो । खोजी गर्ने
क्रममा घरबाट करिब पाँचसय मिटर जती टाढा बाटोमा मृतअवस्थामा भेटिनु भएको परिवार
श्रोतले जानकारी दिएको छ ।
लिखु गाउँपालिका वडा
नं–६ स्थित मिलनचोकमा
ट्रयाक्टरमा बेच्न ल्याएको आलु तरकारी खानको लागी खरिद गर्नुभएको थियो । ४ पाथी
आलु खरिद गरी झोलामा पछाडी पिठ्युँमा बोकेर घरतर्फ लाग्नु भएको थियो । आँफैले
बोकेको झोलाले आफ्नै ज्यान लिन्छ भन्ने कुरा कसले पो सोचेको हुन्छ र ? तर कुल बहादुर मगरको
भने आँफैले बोकेको झोलाले आफ्नै ज्यान लियो । तरकारीका लागी आलु खरिद गरेका मगर
आलु लिएर घर पुग्नै पाउनु भएन । घर पुग्नै लाग्दा घरभन्दा करिब पाँचसय मिटरको
दुरीमा लडेर झोलाको फिता घाँटीमा पासो लाग्दा ज्यान गएको हो ।
चिप्लिएर झोला सहित
लड्नुभएका मगर चिलाउनेको रुखको फेदमा एकापट्टी आफु र अर्का पट्टी बोकेको झोला
झुन्डीयो । झोलाको फित्ता मगरको घाँटीमा अचानक पासो लाग्दा मगरको घट्नास्थलमै
मृत्यु भयो । झोलाको फित्ता बलियो र कडा थियो, घाँटीमा लागेको पासो फुत्काउन नसकेकै कारणले
मृत्यु भएको हुनसक्ने स्थानियबासीको भनाई छ । गोरेटो बाटोबाट करिब एक मिटर जति तल
खसेर रुखमा अड्किएको अवस्थामा परिवार सहित स्थानियबासीले सोमबार विहान करिब ६ः३०
बजेको सयमा फेला पारेको बताएका छन् ।
परिवारले खोजतलास
गर्नेक्रममा झोलासहित रुखको फेदमा अड्किएको अवस्थामा फेला पारेपछि स्थानियबासीले
प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी गाम्नाङटारबाट प्रहरी टोली घट्नास्थल
पुगेको थियो भने थप अनुसन्धान र कानुनी प्रकृयाको लागी इलाका प्रहरी चौकी
खिजीफलाटेबाट प्रहरी निरिक्षक सहितको टोली घट्नास्थलमा पुगेको थियो । आवश्यक
कानुनी प्रकुया पुरा गरी पोष्टमार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र रानीवन
लगिएको वडा अध्यक्ष टिकाकुमार मगरले जानकारी दिनु भयो ।
मृतक मगरका तिन छोरी
विहे भईसकेको र घरमा बृद्ध श्रीमान श्रीमती बस्दै आउनु भएको थियो । ७१ वर्षिय
श्रीमती पदमकुमारी मगर हुनुहुन्छ ।