महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई लैंगिक हिंसा सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम


राजकुमार कार्की

 जेठ १२ । महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई लैंगिक हिंसा सम्बन्धी कार्यस्थलमा आधारीत एकदिने अनुशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । मोलुङ गाउँपालिकाको वडा नं १ कुन्तादेवीमा  र वडा नं ३ प्राप्चामा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । युनएफपीएको आर्थीक सहयोग तथा सिएमसी नेपालको सहकार्यमा दुवै ठाउँमा सोमबार अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । स्थानीयस्तरमा लुकेर बसेका लैंगिक हिँसाका घटनाहरुलाई बाहिर निकाल्ने उदेश्यले अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको सिएमसी नेपाल कोशी प्रदेशका स्वास्थ्य संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो ।

समुदायमा लंैगिक हिँसाका घटना लुकेर बस्ने गरेको र महिला स्वास्थ्य स्वयम सेविका समुदायमा नै रहने भएकाले उहाँहरुलाई  हिंसाको सहजीकरण गर्न सजिलो बनाउने उदेश्यले आभिमुखीकरण गरिएको युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले बताउनु भयो । स्थानीयस्तरमा महिनामा कम्तिमा १ देखि २ वटा लंैगिक हिँसाका घटना स्वास्थ्य संस्थामा र सामुदायिक मनोसामाजिक कार्यकर्तालाई रिफर गर्ने गरेका छन् ।  लैंगिक हिँसा के हो, यसका रुपहरुको बारेमा प्रष्ट बनाइएको थियो । लैंगिक हिँसाले हुने असरहरु र प्रभावको बारेमा, लैंगिक हिंसा भोगेका ब्यक्तिहरुमा देखिने भावनात्मक, शारीरिक समस्या लगायतका विषयमा अभिमुखीकरण गराइएको थियो । स्वास्थ्यचौकी कुन्तादेवीमा स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र ढकाल र स्वास्थ्य चौकी प्राप्चामा स्वास्थ्य चौकी इन्चार्ज मित्रमिनु ढकालले अभिमुखीकरण गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा वडाभरीका महिला स्वास्थ्य स्वयमसेविकाहरु र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसारविश्वमा प्रति ३ जना महिला मध्ये १ जना महिला आफ्नो जीवनकालमा शारिरीक वा यौनिक हिँसामामा पर्ने गरेका छन् । ५३ प्रतिशत महिलाहरु आफ्ना श्रीमान र घनिष्ठ साथीहरुबाट हिंसाको अनुभव गर्ने गरेका छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर समुहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि शारिरीक हिँसा भोगेका छन्  र  ८ प्रतिशतले कुनै न कुनैबेला यौनहिंसाको अनुभव गरेको तथ्याँक छ ।

जिल्ला समन्वय समिति ओखलढुंगाका उपप्रमुख तारादेवी कार्की, युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठ, सिएमसी नेपाल कोशी प्रदेशका स्वास्थ्य संयोजक घनश्याम शर्मा, सुरक्षीत आवास गृह ओखलढुंगाका प्रतिनिधी पेमडोमा शेर्पा र  पत्रकार समेतको उपस्थितिमा कार्यक्रम गरिएको थियो । जिल्ला संयोजक श्रेष्ठले महिला हिंसाका असर र प्रभावका विषयमा प्रष्ट बनाउनु भएको थियो । त्यसै गरी उपप्रमुख कार्कीले पहिलापहिला लंैगिक हिंसाका घटना समाजमै लुकेर बस्ने गरेको सँम्झदै अहिले सक्षम र सबल नागरिकले यस्ता घटना लुकाउनु नहुनेमा जोड दिनुभएको थियो । यो कार्यक्रम अन्य तीनवटा पालिकाका ६ वटा स्वास्थ्य संस्थामा सन्चालन भईरहेको  जिल्ला संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया