सबै दल मिलेर देशको विकास गर्न अनुरोध गर्दछु : बाबा कालीदास


राजकुमार कार्की

  चैत २  अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द (परमहंस) स्वामीजी महाराजले सबै दल मिलेर देशको विकास गर्न अनुरोध गर्नु भएको छ । जलजलेश्वर महादेव प्रतिष्ठान मोलुङ गाउँपालिका ,ले आयोजना गरेको महादेव मन्दिर दर्शन, पूजार्चन तथा अभिनन्दन कार्यक्रममा बोल्दै बाबा कालीदासले यस्तो अनुरोध गर्नु भएको हो ।

प्रतिष्ठानले शनिबार एक धार्मीक कार्यक्रमको आयोजना गरि बाबा कालीदासलाई निमन्त्रणा गरेको थियो । उक्त निमन्त्रणालाई स्वीकार गरी दिल्लीबाट शुक्रबार काठमाण्डौ आई २ गते शनिबार हेलीकप्टरमार्फत ओखलढुंगाको जलजलेश्वर आउनुभएको थियो । महादेवको दर्शन, पूजार्चना पश्चात धर्मअनुरागीहरुलाई सम्बोधन गर्दै, सबै दल मिलेर देशको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाले भन्नुभयो; ‘यहाँ एउटा मात्रै दल छैन, सबै दल छन्, सबै दलबाट जितेका प्रतिनिधीहरु हाम्रा अविभावक हुन्, सबै अविभावकहरुलाई नमन गर्दै प्रणाम गर्दै जितेका प्रतिनिधीहरु एक भएर काम गर्न अनुरोध गर्दछु ।

दलहरु हाम्रो छाता हो, त्यो छातामुनी हामी सबै बसेका हुन्छौ । त्यो छाताले घाम भएको बेला सितल दिने र पानी परेका बेलामा ओत दिन सक्ने हुनुुपर्दछ । यहाँ दलहरु नभई जनताको अविभावकको भूमिका निर्वाह गरी सबै राजनीतिक दल मिलेर सबै एक भएर देशलाई समाजलाई परिवर्तन गर्दै, आर्थीक र भौतिक विकासमा लाग्न अनुरोध गर्दछु समेत भन्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति ओखलढुंगाले र मोलुङ गाउँपालिकाले नागरिक अभिनन्दन गरिएको थियो भने जलजलेश्वर महादेव प्रतिष्ठानले धार्मिक अभिनन्दन गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले अभिनन्दन पत्रमार्फत अभिनन्दन गर्नुभयो । त्यसै गरी मोलुङ गाउँपालिकाका प्रमुख उत्तम राईले पनि अभिनन्दन पत्रमार्फत अभिनन्दन गनुभयो । र जलजलेश्वर महादेव प्रतिष्ठानका सल्लाहकार शम्भु प्रसाद दाहालले अभिनन्दन गर्नुभएको संस्थाका उपाध्यक्ष पाण्डब खतिवडाले जानकारी दिनुभयो ।

अभिनन्दन पश्चात अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदासले आफुलाई निमन्त्रणा गरी अभिनन्दन गरेकोमा आफु रिणी भएको बताउनु भयो । र उहाँले यो पौराणीक क्षेत्र, पवित्रभूमिलाई धार्मीक पर्यटन स्थल बनाउन लागेकोमा खुशी ब्यक्त गर्दै, तन मन र धनले कटिबद्ध भएर सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो; ‘यो पौराणीक क्षेत्रलाई यस पवित्रभूमीलाई धार्मिक पर्यटक स्थल बनाउने प्रयत्न गरिरहनु भएको छ । तन, मन  र धनले म कटीबद्ध भएर सेवा दिन तत्पर रहनेछु । सेवा लिन ढिलो हुन सक्ला तर जसरी पनि म सेवा पु¥याउन लाई तयार रहनेछु । मैले सकेको जानेको सहयोग गर्न म सधै तत्पर रहनेछु ।

जलजलेश्वर महादेव मन्दिरमा करिब ३५ मिनेटको कार्यक्रम पश्चात आफ्नो जन्मथलो सिद्धिचरण नगरपालिका, सानीटारतर्फ लाग्नुभएको प्रतिष्ठानका अध्यक्ष तारिणी प्रसाद भट्टराईले जानकारी दिनुभयो । जन्मथलोमा भेटघाटपश्चात हलेसी महादेव खोटाङ, छिमे ताक्तेन छोलीङ गुम्बा दर्शन र भगवति मन्दिर दर्शन गर्ने कार्यक्रम पश्चात काठमाण्डौ फर्किने सचिवालयले जानकारी दिएका छन् ।

बाबा कालीदासलाई जलजलेश्वर ल्याउन महत्वपूर्ण भूमिका र पहल कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री प्रदिपकुमार सुनुवारले गर्नुभएको आयोजकले जनाएको छ । 


प्रतिक्रिया