राजकुमार कार्की
असोज ३१ । सिद्धिचरण नगरपालिकाले
स्वीकृत दरबन्दीभित्र नरहेका शिक्षक कर्मचारीको सम्झौता रद्द गर्ने निर्णय गरेको छ
। बिहिबार बसेको नगरकार्यपालिकाको बैठकले स्वीकृत दरबन्दी बाहेकका शिक्षक
कर्मचारीहरुको सम्झौता रद्द गर्ने निर्णय
गरेको हो । स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको सम्झौता रद्द गर्न संघिय मामिला
तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले गरेको परिपत्रानुसार सम्झौता
रद्द गरिएको नगरप्रमुख तेजन खनालले जानकारी दिनुभयो ।
असोज ५ गते बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकमा नेपाल सरकार, प्रदेश तथा स्थानीय
तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय
गरेको थियो । सोइ निर्णय कार्यान्वयन गर्न संघिय मामिला तथा सामान्य प्रशासन
मन्त्रालयले असोज ८ गते च.नं ११३ को पत्र
र अर्थ मन्त्रालयले असोज ७ गते च.न. ११८ को पत्र पठाएका थिए । नेपाल सरकारले गरेको
निर्णय अनुसार नगरपालिकाको श्रोतबाट तलब भत्ता भुक्तानी हुने निजी श्रोत
शिक्षक कर्मचारीको कातिक १ गतेबाट लागु
हुने गरि सम्झौता रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले जानकारी
दिनुभयो ।
कार्यालय सहयोगी, सडक हेरालु, सरसफाई कर्मी, कृषीअधिकृत, एकगाउँ एक प्राविधक
अन्तर्गत कृषी र पशुप्राविधिक सहित १८ जनाको सम्झौता रद्द गरिएको छ । त्यसै गरि
विकास साझेदार संस्था सँग साझेदारीमा तलब भत्ता दिने गरि सम्झौता भएका
कर्मचारीहरुको नगरले दिने तलब भत्ता समेत कटौती गरेको नगरपालिकाले जनाएको छ ।
विकास साझेदार सँग सम्झौता भई ९ जना सामुदायिक मनोसामाजिक कार्यकर्ता कार्यरत थिए
। प्रदेश सरकार, नगरपालिका र करुणा फाउनडेशनको
साझेदारीमा अपाङ्गता रोकथाम तथा
पुनःस्थापना कार्यक्रम तर्फका ३ जना कर्मचारी कार्यरत रहेका थिए । विकास साझेदार
संस्थासँगको साझेदारीमा १२ जना कर्मचारी कार्यरत रहेका छन् । साझेदार संस्थाले
उपलब्ध गराएको कम तलब भत्तामा काम गर्न इच्छुक कर्मचारीले भने काम गर्न पाउनेछन् ।
नगरपालिकाको तर्फबाट उपलब्ध गराउने तलबभत्तामात्र कटौती गरिएको हो ।
विभिन्न विद्यालयहरुमा दरबन्दी बाहेकका हटाइएका शिक्षकहरुको
यकिन तथ्यांक भने आउन सकेको छैन । नगरपालिकाबाट वडामा बजेट जानेभएकाले कुन–कुन विद्यालयमा कति
जना शिक्षक करारमा नियुक्ती गरेका छन्, जानकारी नआएको शिक्षा शाखा प्रमुख फडिन्द्र
कटवालले जानकारी दिनुभयो । नगरपालिका बाट करार दरबन्दीमा शिक्षक नियुक्तीका लागि
पठाउने गरेको सबै वडाको बजेट कटौती गर्ने निर्णय गरेको बताएका छन् । सिद्धिचरण
नगरपालिका, नेपाल सरकार मन्त्रीपरिषदको बैठकमा नेपाल सरकार, प्रदेश तथा स्थानीय
तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने निर्णयको
कार्यान्वयन गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।